कोरोना अपडेटः विश्वभर कोरोना संक्रमित २७ लाख नाघ्यो, मृत्यु हुने एक लाख ९० हजार बढी

-


     मर्दी न्युज    
     वैशाख १२ गते २०७७ मा प्रकाशित


पोखरा, १२ वैशाख । कोरोना भाइरस संक्रमितको संख्या २७ लाख नाघेको छ । शुक्रवार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १७ हजार ९२१ पुगेको छ ।

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४९९ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ८ लाख ८० हजार २०४ जना कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन् भने अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९ हजार ८४५ पुगेको छ ।

त्यस्तै अमेरिका पछि धेरै संक्रमित स्पेनमा २ लाख १३ हजार २४ जनामा भेटिएको छ । स्पेनमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ हजार १५७ पुगेको छ ।

इटलीमा १ लाख ८९ हजार ९७३, फ्रान्समा १ लाख ५८ हजार १८३, जर्मनीमा १ लाख ५३ हजार १२९ र बेलायतमा १ लाख ३८ हजार १७८ जनामा संक्रमित भएको छ ।

यसैगरी टर्कीमा पनि संक्रमितको संख्या एक लाख नाघेको छ । टर्कीमा हालसम्म १ लाख १ हजार ७९० जनामा संक्रमितको पुष्टि भएको छ ।

संक्रमणबाट इटलीमा ज्यान गुमाउनेको संख्या २५ हजार ५४९ जना पुगेको छ । त्यस्तै फ्रान्समा २१ हजार ८५६, जर्मनीमा ५ हजार ५७५, बेलायतमा १८ हजार ७३८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको छ ।

विश्वभर कोरोनाका ५८ हजार ६९० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । १७ लाख ८१ हजार ८११ जनाको अवस्था सामान्य रहेको छ । ७ लाख ४५ हजार ४८० जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा भने कोरोना संक्रमणका कारण आजसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । बिहीबार मात्र देशमा थप ३ जनामा कोरोना संक्रमित भेटिएपछि हालसम्म संक्रमितको संख्या ४८ जनामा पुष्टि भएको छ भने १० जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।