गङ्गा घले
बढ्दो नयाँ प्रविधि, ग्याजेट्सहरु प्रतिको अत्यधिक आशक्ति र सानो परिवार आदिको चाहनाको कारण समाज दिन प्रतिदिन एकाङ्की, आत्म–केन्द्रीत अथवा स्वार्थी अझै निर्मम भएर भन्नुपर्दा अर्काको दुःखमा रमाउन समेत पछी नपर्ने समस्याबाट ग्रसित बन्दैछ । यसो भनिरहदा अब समाजमा राम्रो र सेवाको भावना भएका व्यक्तिहरु छँदै छैनन् भन्नचाहिँ मिल्दैन ।
भूकम्प, बाढीपहिरो र विभिन्न किसिमका महामारीमा केहि व्यक्तिहरु आफ्नो सुखसुविधालाई भन्दा समाजको पिरमर्का, अफ्ट्यारोलाई महत्त्वपूर्ण ठानी अहोरात्र सेवामा खटिएका भेटिन्छन ।
सुरेन्द्र परियार, छिरिङ्ग लामा शेर्पा र विकाश भट्टराई जस्ता युवाहरू र उहाँहरुको समुहले अहिलेको कोभिड–१९ (कोरोना भाइरस)ले फैलाएको आतंकको बीचमा भोकभोकै परेका व्यक्तिहरुलाई खाना खुवाएर जीवनरक्षा गर्नेकाममा लागिपरेका छन । उहाँहरु तीन जना नै कुमुदिनी होम्स स्कुलका पूर्वविद्यार्थीहरु हुनुहुन्छ ।
सन २०१४ बाट बहिनी एडुकेयर फाउन्डेसन (Bahini Educare Foundation) सुरेन्द्रको अगुवाइमा पोखरामा संचालनमा छ । उहाँ संस्थापक अध्यक्ष तथा हाल कार्यकारी निर्देशक हुनुहुन्छ । यस संस्थाले अति विपन्न महिला तथा बालिकार किशोरीहरुको शिक्षा, स्वास्थ्य, खाद्यान्न तथा लत्ताकपडामा सहयोग पुर्याउदै आएको छ । कास्की जिल्ला कार्यक्षेत्र भएकोले लेखनाथ, घाचोक, हेम्जा, फुस्रेखोला लगायतका ठाउँका २५ परिवारका लगभग ७५ जना सेवाग्राहीलाई प्रत्येक महिना खाद्यान्न घरमै पुर्याउने, स्कुल फि तिरिदिने, स्टेसनरी तथा आवस्यक लत्ताकपडा किनिदिने गरिरहेका छन ।
बालबालिकाहरुलाई बालगृह वा आश्रममा राख्नुभन्दा परिवार सङ्गै राखेर सहयोग पुर्याउनु उत्तम हुने सुरेन्द्रको धारणा छ । Leo Multiple District का पूर्व अध्यक्ष रहिसकेका सुरेन्द्र हाल एमनेस्टि इन्टरनेशनल ग्रुप –५४ का सहसचिव हुनुहुन्छ भने एनजीओ लिडरशिप अवार्ड २०१९ बाट पुरस्कृत भइसक्नु भएको छ । आफुहरुले अहिले कोरोना सिर्जित परिस्थितिमा गरेको सामाजिक कार्य (निःशुल्क भोजन)मा ZONTA Club of Pokhara, NYEF Pokhara र समन्वयकारी भुमिकामा सूर्यनाथ पहारीको सदैव सहयोग रहेको बताउनुभयो ।
लकडाउन सुरुभए यता हिजो १७औं दिनसम्म लगभग तीन हजार जनालाई निःशुल्क खाना खुवाएको बहिनी एडुकेयरका बोर्ड सदस्य, रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराका सचिव तथा जाभिस्टा अर्गानिक क्याफे लेकसाइड, पोखराका संचालक विकाश भट्टराईले बताउनुभयो । विभिन्न व्यक्ति तथा संस्थाहरुबाट यस अभियानलाई खाद्यान्न सामग्री प्राप्त भएको, वडा नं ६ का वडा अध्यक्ष, वडा सदस्य हरिकृष्ण पहारी लगायतबाट सहयोग र उत्साह थपिएकोले आफुहरु सामाजिक उत्तरदायित्व बहनगर्न सकेको विकाशले बताउनुभयो ।
जाभिस्टा अर्गानिक क्याफेकै किचनमा खानापकाउन व्यस्त अर्का युवा तथा बहिनी एडुकेयरका बोर्ड अध्यक्ष छिरिङ्ग लामा शेर्पा सफल पर्यटन व्यवसायी हुनुहुन्छ । लामा राइजेन ट्रेक्स एन्ड एक्सपिडिसनका ब्यबस्थापक लामा थुप्रै संघ संस्था तथा परोपकारका काममा संलग्न हुनुहुन्छ । पर्यटक सिजनको बेला हिमाल तथा पहाडतिर अनि अफ सिजनमा जर्मनी र अष्ट्रियातिर व्यवसाय प्रबर्द्धनमा निस्किनु छिरिङ्गको जीवनचर्या हो । जर्मनी भाषा अनि हस्पिटालिटी व्यवस्थापनका प्रशिक्षक समेत रहनुभएका छिरिङ्ग उमेरले ३० वर्षकै हाराहारीको हुनुहुन्छ । बाह्रबजे भित्र दर्जनौं व्यक्तिहरु खाना लिन आउनेभन्दै सबैजना प्याकिङको लागि व्यस्त हुन थाल्नुभयो । सकारात्मक सोचभएका यस्ता युवाहरू समाजको लागि अनुकरणीय छन ।