प्यारो छ लिपु लेक

-


     मर्दी न्युज    
     २९ बैशाख २०७७ मा प्रकाशित


विष्णु प्रसाद शर्मा

छामेर देशको नक्शा सपनामा, रोएछु कति कति ।
ब्याकुल भै राष्ट्र प्रेमले रातिमा, निद्रा पर्दैन रति ।।
पुर्खाहरूको रगत पशिनाले, सिंचिएको यो देश ।
स्वर्गकै टुक्रा झै लाग्दछ हिमाल, पाहाड र मधेष ।।

खुम्चियो देश मेरो आज सिमना, मिचिए राति राति ।
चिथोरेर छिया छिया छ नंग्राले, मातृ भुमिको छाति ।।
प्यारो छ मुटु भन्दा कालापानी, सुस्ता र लिपुलेक।
पार्न लागे दुष्टहरूले कब्जमा, षड्यन्त्रले अनेक ।।

निस्केका पहराबाट छहरा ती, छैनन पानीले भरि ।
आशु हुन बगेका नेपाल आमाका, उर्लेर भेल सरि ।।
बगेको छ रगत बीरको नदिमा, छैन जल केबल ।
गडेको छ कालापानीको माटोमा, नेपाल नै नेपाल ।।

लुटिदा अस्मिता नेपाल आमाको, लिदैनौ चिन्ता रत्ति ।
थिच्दा डोजरले कोमल शरिर, दुखे होलानी कति ।
उघार घुम्टो अब राष्ट्रबादको, देखाउ असलि रूप ।
दुखेर देश रूँदा पनि कसरी, बस्न सकेका चुप ।।

धिक्कार छ सन्तान काँतर कस्ता, जन्माइएछ भनि ।
गिज्याए बलभद्र र अमर सिंहका, सालीकहरूले पनि ।।
रगत छ नशा नशामा पुर्खाको, नमान कत्ति डर ।
उठ साहास गर बचाउ राष्ट्र, देश मेरो सुन्दर ।।

काठमाण्डौं