विदेशमा समस्यामा परेका २५ हजार नेपालीलाई उद्धार गर्ने उच्चस्तरीय समितिको निर्णय

-


     मर्दी न्युज    
     १६ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले भारतबाहेक विदेशमा समस्यामा परेका २५ हजार नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयस समितिको शुक्रबारको बैठकले प्राथमिकताको आधारमा तत्काल २५ हजारलाई ल्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले यसअघि नै विदेशमा रहेका नेपालीलाई ल्याउने कार्यविधि पारित गरेको छ । बैठकमा कुन कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्यविधि प्रस्तुत भएको थियो ।

सरकारले भारत र अन्य देशमा गरी झन्डै ६ लाख नेपाली तत्काल आफ्नो देश फर्किन चाहेको बताएको छ । यसमध्ये प्राथमिकताको आधारमा युइए, कतार, मालदिभ्स तथा बंगलादेशमा रहेका विद्यार्थीलगायत परेका छन् । समिति स्रोतका अुनसार युएइमा रहेका २८ जना गर्भवती नेपाली महिला र कुवेतमा लडकडाउनकै अवधिमा माफी पाएर देश फर्किन बसेका २५ सयदेखि ३ हजार घरेलु कामदारलाई पहिलो प्राथमिकतामा राखिएको छ । दैनिक ३ हजारदेखि ३५ सय जनालाई ल्याइने पनि स्रोतले बतायो ।

स्रोतका अनुसार आवश्यकता अनुसार केहीलाई लिन नेपालबाट विमान पठाइनेछ भने केहीलाई उतैको देशसँग समन्वयगरी ल्याइने छ । नेपाल आएपछि दुई दिन उनीहरुले आफ्नै खर्चमा काठमाडौंको होटलमा बस्नुपर्ने छ । होटल क्वारेन्टाइनमा बस्न चाहनेले १४ दिनसम्म होटलमा बस्नुपर्नेछ भने होटलको क्वारेन्टाइनमा बस्दा व्यक्ति आफैंले खर्च व्यहोर्नुपर्नेछ ।