सरकारले बन्दाबन्दीका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने भएको छ । बन्दाबन्दी तथा कोरोना महामारीले तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि शिक्षा मन्त्रालयले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीलाई पठनपाठन गराउन आइतबार निर्देशिका जारी गरेको छ ।
त्यसका लागि मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ स्वीकृत गरेको छ । १२ पृष्ठ लामो निर्देशिकामा प्रविधिका माध्यमबाट पठनपाठन गर्न सकिने उल्लेख छ भने इन्टरनेट, रेडियो, टिभी, अनलाइन र अफलाइनबाट पठनपाठन गर्न सकिने उल्लेख गरेको छ ।
तीनै तहका सरकार, सञ्चार माध्यम, विद्यार्थी, शिक्षकलगायतका भूमिका समावेश गरिएको निर्देशिका सामुदायिक, संस्थागत, सार्वजनिक, निजी शैक्षिक गुठीद्वारा सञ्चालन गरिएका विद्यालयले प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।
विद्यालय खुलेर नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दुर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको आइतवार मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी जनाएको थियो ।