अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बिरामी परेका र पछि मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कंदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले जानकारी दिए ।
जेठ २३ गते लगेको स्वाब नै हराएपछि दुईदिनदेखि शव व्यवस्थापनमा कठिनाई भएको छ । परीक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी ४ खनकै रातुका चौरमा शव राखिएको थियो ।
जेठ २३ गते स्वाब सङ्कलन गरी कोरोना जाँच गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहबामा पठाइएको स्वाब हराएपछि आज विहान पुनः स्वाब पठाइएको थियो । उनलाई मंगलबार सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको थियो । उपचार गरी घर फर्कंदै गर्दा उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो ।
स्वाब परीक्षणको रिपोर्टका आधारमा शवको व्यवस्थापन गर्ने भनेर पठाएको स्वाबको रिपोर्ट चाँडो पठाउन ताकेता गर्दा प्रादेशिक अस्पताल भैरहबामा मृतक व्यक्तिको नामको स्वाब हराएको खुलेको हो। स्वाबको नतिजा आएकाले शवको व्यवस्थापन नियमावली अनुसार गर्ने काम भइरहेकोे प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । – गाेरखापत्र अनलाइन