आन्दोलनरत समूहलाई संक्रमणको विषयमा संवेदनशील हुन सरकारको आग्रह

-


     मर्दी न्युज    
     ३० जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । पछिल्लो समय देशका केही भूभागहरुमा सरकारको विरोधमा सडक प्रदर्शन गरिरहेका समूहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको विषयमा संवेदनशील हुन सरकारले आग्रह गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिले शुक्रबार सरकारविरुद्ध भइरहेको प्रदर्शनको विषयमा मुख खोलेको हो ।

समिति संयोजक तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् । उनले आन्दोलन गर्दा संक्रमणको संवेदनशीलता ख्याल गर्न आग्रह गरेका हुन् ।

पोखरेलले विज्ञप्ति जारी गर्दै कोरोना उपचारमा खर्च भएको रकमको फाँटवारी (हिसाब) छिट्टै सार्वजनिक हुने बताएका छन् । साथै पीसीआर टेष्टको दायरा बढाउने निर्णय भइसकेको र क्वारेन्टिन पनि सुधार गर्दै जाने बताएका छन् ।

‘आफ्ना मागहरु राखी शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भएपनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको तथा कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन विशेष आग्रह गर्न चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ।

त्यस्तै विज्ञप्तिको अन्त्यमा नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा निशान छापमा राख्न भोलि हुन लागेको संविधान संशोधनको खुशी मनाउन आग्रहसमेत गरेका छन । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेकाले सामाजिक दूरी कायम गर्दै आफ्नो दैनिकीमा फर्कनसमेत अनुरोध गरेको छ ।