तस्विरः खेम गुरुङ
पोखरा, ३ असार । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी जारी गरिएको भए पनि विकास निर्माणका कामलाई अघि बढाउने गरी केही खुकुलो बनाएसँगै सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा रोकिएका कामलाई तीव्रता दिई अन्तिम चरणमा पुगेको छ ।
तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर लामो नेपालकै पहिलो मध्यपहाडी पदमार्ग (मिलेनियम ट्रेक) मा विकासको काम अघि बढिरहेको समयमा एकाएक कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले सम्पूर्ण काम रोकिएको थियो । चैत ११ गतेदेखि सरकारले जारी बन्दाबन्दीका कारण रोकिएको काम जेठ लागेदेखि शुरुभएसँगै यस पदमार्गमा भए गरेका विकास निर्माणका काम अन्तिम चरणमा पुगेको छ ।
पदमार्गको विकासका लागि चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित रु ५० लाख बजेटअन्तर्गत विभिन्न काम अघि बढाइएको थियो ।
पदमार्ग अन्तर्गत पर्ने स्याङ्जाका पुतलीबजार–१२, पेल्काचौरस्थित नकचु पञ्चमुखी धाम क्षेत्रलाई तारबारसहित व्यवस्थित गर्ने काम अन्तिम चरणमा पुगेको उक्त धामका अध्यक्षसमेत रहेका खेम गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै मिलेनियम पदमार्ग र भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको सहयोगमा नकुचु पञ्चमुखी धामको काखमा रहेको निउरीकुना मातातीर्थ कुण्डको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगबाट मातातीर्थको संरक्षण कार्य अघि बढेको हो ।
त्यस्तै पदमार्गअन्तर्गत पर्ने तनहँुको शुक्लागण्डकी नगरपालिका–१० स्थित ढोर मूलकोट दरबार क्षेत्रलाई तारबारसहित व्यवस्थित गर्ने काम अन्तम चरणमा पुगेको मिलेनियम पदमार्ग व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताएका छन् ।
यसैगरी समितिले पदमार्गअन्तर्गतकै मिलेनियम गुफाको तारबार लगाउने कार्य, शुक्लागण्डकी–११ राइपुरस्थित जन्तेढुङ्गालाई व्यवस्थित गर्ने योजना पनि अन्तिम चरणमा पुगेको बताइएको छ ।
यस्तै पदमार्ग क्षेत्रकै भीरकोट नगरपालिका–३ स्थित भीरकोट दरबार र वडा नं ७ स्थित देउपूजी ढुङ्गालाई पनि तारबार एवं व्यवस्थित गर्न लागिएको छ । त्यस्तै पुतली बजार नगरपालिका–२ स्थित भैँसेगौँडाको खाँणदेवीको मन्दिर जाने सिँढी बाटोमा रेलिङ निर्माण गर्न लागिएको छ । पदमार्गकै कुसुम भञ्ज्याङबाट गहते मनकामना जाने सिँढी बाटो, पुतलीबजार नगरपालिका–९ कोल्मामा चरा एवं वन्यजन्तु अवलोकनस्थल लगायतका निर्माणकार्य पनि अन्तिम चरणमा पुगेको महासचिव गुरुङले जानकारी दिए ।
तस्विरहरुः खेम गुरुङ । पुतलीबजार नगरपालिका १२ पेल्काचौरस्थित नकुचु पञ्चमुखमी महादेव धाम तथा निउरीकुनामा काम गर्दै गरेका स्थानीयहरु ।