फाइल तस्विर
पोखरा, १४ असार । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी जारी गरि लामो समयपछि खुकुलो बनाएसँगै सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)का कामहरु सम्पन्न भएका छन ।
तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर लामो नेपालकै पहिलो मध्यपहाडी पदमार्ग (मिलेनियम ट्रेक) मा विकासको काम अघि बढिरहेको समयमा एकाएक कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले सम्पूर्ण काम रोकिएको थियो । चैत ११ गतेदेखि सरकारले जारी बन्दाबन्दीका कारण रोकिएको विकास निर्माण कार्यलाई सुचारु गर्ने निर्णय बमोजिम जेठ लागेदेखि शुरुभएको यस पदमार्गमा भए गरेका विकास निर्माणका काम सम्पन्न भएको हो ।
पदमार्गको विकासका लागि चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित रु ५० लाख बजेटअन्तर्गत विभिन्न काम अघि बढाइएको थियो ।
पदमार्ग अन्तर्गत पर्ने तनहुँ जिल्लाको ऐतिहासिक स्थल रजस्थलको व्यवस्थापन कार्य अन्तर्गत २७० मिटर तारजाली र गेट लगाउने कार्य सम्पन्न भएको मिलेनियम पदमार्ग व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले जानकारी दिए ।
यसैगरी मिलेनियम गुफा जाने बाटोमा रेलिङ निर्माण, शौचालय निर्माण र गेट निर्माण कार्य सम्पन्न भएको हो । यसैगरी तनहुँकै राइपुरस्थित जन्ते ढुङ्गालाई संरक्षण गर्ने कार्य सम्पन्न भएको उनले बताए । जन्ते ढुङ्गामा पनि २५० मिटर तारजाली लगाएको छ ।
यसैगरी पदमार्ग अन्तर्गत पर्ने स्याङ्जाको कोल्मा काउलेमा ३५० मिटर सिंढी निर्माण र चौतारा निर्माण कार्य सम्पन्न भएको छ । यस्तै चिरुवामा पनि २५० मिटर लम्बाईको सिंढी निर्माण कार्य सम्पन्न भएको छ । यसैगरी पुतली बजार नगरपालिका–२ स्थित भैँसेगौँडाको खाँणदेवीको मन्दिर जाने सिँढी बाटोमा पनि १३० मिटर लामो रेलिङ राख्ने कार्य सम्पन्न भएको छ । त्यस्तै स्याङ्जाको पेल्काचौरस्थित नकुचु पञ्चमुखी धामलाई पनि संरक्षण गर्ने कार्य सम्पन्न भएको छ । त्यहाँ करिब ३० मिटर लामो तारजाली तथा गेट निर्माण कार्य सम्पन्न भएको छ ।
यस्तै पदमार्ग क्षेत्रकै भीरकोट नगरपालिका–३ स्थित भीरकोट दरबार र वडा नं ७ स्थित देउपूजी ढुङ्गालाई पनि तारबार एवं व्यवस्थित गर्न कार्य पनि सम्पन्न भएको समितिका महासचिव हर्कबहादुर गुरुङले जानकारी दिए ।
पदमार्गकै कुसुम भञ्ज्याङबाट गहते मनकामना जाने सिँढी बाटो, पुतलीबजार नगरपालिका–९ कोल्मामा चरा एवं वन्यजन्तु अवलोकनस्थल लगायतका निर्माणकार्य पनि सम्पन्न भइसकेको र त्यसको प्राविधिक रिपोर्ट आउन बाँकी रहेको महासचिव गुरुङले जानकारी दिए ।
निर्माणका सबै तस्विर बालकुमार गुरुङ