९८ दिनपछि सोमवार खुलेको शेयर बजारमा रू. ३४ करोड ७७ लाख ७१ हजारको कारोबार भएको छ ।
लामो समयपछि खुलेको दिन शेयर बजारमा निकै उतारचढाब देखियो । बजार खुलेको ४० मिनेटमै ४ प्रतिशतको नकारात्मक प्रभाव परेपछि २० मिनेट कारोबार स्थगित भयो । आज भएको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घटेर १ हजार १८८ दशमलव ७० बिन्दुमा झरेको छ ।
यस दिन एक सय ३० ओटा कम्पनीको ४ हजार ८६२ पटक शेयर कारोबार भएको छ । कारोबारमा आएको १२ समूहमध्ये व्यापारिक, उत्पादन तथा प्रशोधन, जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ भने अन्य घटेको छ ।
व्यापारिक समूहको ५ दशमलव २४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव ३१ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव ६५ प्रतिशत र अन्य समूहको ३ दशमलव १३ प्रतिशतले परिसूचक बढेको हो ।
यसदिन सबैभन्दा बढी विकास बैंकको परिसूचक ३ दशमलव ७४ प्रतिशत घटेको छ । यस दिन सबैभन्दा बढी हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको रू. ३ करोड ४३ लाख ६८ हजार बराबरको कारोबार भएको हो ।
सोमवार घटेको बजारमा पनि चार कम्पनीको शेयरमूल्यमा सकारात्मक देखिएको छ । नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक शेयर र सर्वसाधारण शेयरमा भने सकारात्मक सर्किट लागेको हो ।