चीनमा फेला पर्यो अर्को खतरनाक भाइरस, महामारीको सम्भावना रहेको अनुसन्धानकर्ताहरूले बताए

-


     मर्दी न्युज    
     १६ असार २०७७ मा प्रकाशित


एजेन्सी । सिंगो विश्व कोरोना संक्रमणको महामारीबाट गुज्रिइरहेका बेला चीनमा अनुशन्धानकर्ताहरुले महामारी फैलाउन सक्ने नयाँ खालको स्वाइन फ्लु पत्ता लगाएका छन । यो फ्लु अनुवांशिक रुपमा एच वान एन वानकै रुप भएको अमेरिकी वैज्ञानिक पत्रिका ‘प्रोसेडिङ अफ दि नेशनल अफ एकडेमी –पीएनएएस’ले जनाएको छ ।

सन २००९ मा महामारीको कारण बनेको यो स्वाइन फ्लुलाई ‘जी फोर’ नाम दिइएको छ । चिनियाँ विश्वविद्यालय र चीनकै रोग नियन्त्रक एवं रोकथाम केन्द्रका वैज्ञानिकहरुले यसमा मानिसमा संक्रमण फैलाउन सक्ने र अत्यधिक अनुकुलित हुनका लागि चाहिने सबै आवश्यक तत्वहरु रहेको बताएका छन । सन २०११ देखि २०१८ सम्म अनुशन्धानकर्ताहरुले १० वटा चिनियाँ प्रान्त र एक पशु अस्पतालको बधशालामा रहेका ३० हजार सुंगुरको नाकबाट स्वाब संकलन गरेको साउथ चाइन मनिङ पोष्टमा उल्लेख छ ।

त्यस क्रममा उनीहरुले १७९ प्रकारका स्वाइन फ्लुका भाइरसहरु फेला पारे । । यी सबै भाइरसहरु सन २०१६ मा सुंगुर र बंगुरमा प्रकोपकै रुपमा फैलिएका जस्तै रहेका छन । त्यस बेला सुंगुर र बंगुरहरुमा ज्वरो आउने, खोकी लाग्ने र हाछ्युँ आउने लक्षणहरु देखिएका थिए ।

वैज्ञानिकहरुका अनुसार ‘जी फोर’ अत्यन्तै उच्च संक्रमण क्षमता भएको भाइरस हो । यसले मानव कोशिकाहरुमा अन्य भाइरसको तुलनामा अत्यधिक मात्रामा गम्भीर लक्षणहरु उत्पन्न गराउँछ । यो अनुसन्धानबाट वैज्ञानिकहरुले अर्को झनै गम्भीर विषय पनि पत्ता लागेको छ । जुन ‘जी फोर’ भाइरसको सम्पर्कमा आउँदा मानव शरीरमा रहेको प्रतिरक्षा शक्तिले सुरक्षा दिन सक्दैन । मानिसको ‘ईम्युन’ क्षमताले काम गर्दैन ।

‘जी फोर’ भाइरस मानव शरीरमा प्रवेश गर्ने वातावरणले निरन्तरता पाइरह्यो भने महामारीको जोखिम बढ्ने भन्दै वैज्ञानिकहरुले चिन्ता ब्यक्त गरेका छन । सुंगुर र बंगुर पालन र यससम्बन्धी व्यवसायसंग जोडिएका मानिसहरुलाई अधिक सावधानी अपनाउन आग्रह गरेका छन ।