काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक पुनः स्थगित भएको छ । बैठक असार २२ गते सोमबार पुनः बस्नेछ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताउँछन् ।
बिहीबार केहीबेर बसेर स्थगित भएको बैठक पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरुले प्रयास गर्ने भन्दै एक दिनको समय राखेर बैठक स्थगित गरिएको भएको थियो ।
तर, शनिबारसम्म पनि संकट समाधानको सूत्र फेला नपरेपछि बैठक फेरि दुई दिनपछि सरेको हो ।
पार्टीभित्रैबाट चर्को आलोचनासहित राजीनामा माग भएपछि तनावमा रहेका प्रधानमन्त्री ओली बचाउको रणनीतिसहित व्यक्तिगत र समूहगत छलफललाई तीव्र बनाएका छन्।
ओलीको राजीनामा मागिसकेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम पनि रणनीतिक छलफलमा व्यस्त छन्।
आज बिहान ९ बजे दुई अध्यक्षबीच छलफल तय भएको थियो। शुक्रबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा छलफल भए पनि ठोस सहमति भएको थिएन।
शुक्रबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्याएपछि विवाद झनै बढेको छ । दाहाल–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् ।