स्याङ्जा, २८ असार । अबिरल वर्षाका कारण स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ८ स्थित काहुलेमा पहिरो गएको पहिरोका कारण केही घर जोखिममा परेको छ ।
अबिरल वर्षाका कारण गएराती घरछेउबाट गएको पहिरोले काहुलेस्थित ८ घर जोखिममा परेको स्थानीय उत्तम गुरुङले बताए । पहिरोमा हालसम्म कुनै जीउधनको क्षति भने भएको छैन ।
निरन्तर भइरहेको वर्षाका कारण र घरछेउमै गएको पहिरोका कारण स्थानीय भने त्रसित बनेको छ ।
यसभन्दा अघि २०५५ भदौ १३ गते सोही ठाउँमा पहिरो गई ५ घर बगाएको थियो भने १६ जनाको मृत्यु भएको थियो । त्यतिबेला घरमा रहेका गाईवस्तु पनि पहिरोमा पुरिएको थियो ।