कर्म फ्लाइट्स फाउण्डेशनद्वारा पोखरा महानगरपालिका वडा नं १८को सेदीमा राहत वितरण ।

-


     मर्दी न्युज    
     श्रावण १८ गते २०७७ मा प्रकाशित


फोटो: मनशान्त घिमिरे

कोरोना प्रभावित प्याराग्लाइडिङ्ग अवतरण ल्याडिङ्ग गर्ने ठाउँ सेदी खपौदीमा प्याराग्लाइडिङ्ग प्याकिङ्ग गर्ने प्याकिङ्ग बोइज लगायत कठिन परिस्थितिमा रहेका गरिब, असहाय र अपांगता भएका तथा जेष्ठ नागरिकहरुलाई पोखरा–१८ सराङ्गकोट सेदीस्थित नारेश्वरको चौतारीबाट कर्म फ्लाइट्स फाउण्डेशनद्धारा राहत वितरण गरिएको छ ।

कर्म फ्लाइट्स फाउण्डेशन र द क्लाउडवेश फाउण्डेशनको सहकार्य तथा पोखरा महानगरपालिका वडा नं–१८ को संयोजनमा फाउण्डेशनले आज ९० घरधुरीलाई राहत स्वरुप खाद्यान्न, सरसफाई तथा तिनका स्कूले केटाकेटीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ ।

फोटो: मनशान्त घिमिरे

फाउण्डेशनका उपाध्यक्ष एवं राहत कार्यक्रमका संयोजक लक्ष्मण बहादुर थापाका अनुसार प्रति परिवार २५ केजी चामल, १ केजी नुन, २ केजी दाल, १ केजी चिनी, १ केजी चना, १ लिटर खानेतेल, सोयाबिन २ प्याकेट, साबुन २ वटा, मास्क र शैक्षिक सामग्री (कपी, पेन्सिल, इरेजर, कटर इत्यादि) गरी प्रति परिवार रु २४००/- (अक्षरुपी दुइ हजार चार सय मात्र) बराबरको राहत सामाग्री वितरण गरिएको जनाउनु भयो ।

राहत वितरण कार्यक्रममा आफ्नो भनाइ राख्दै राहत वितरण कार्यक्रमका संयोजक लक्ष्मणबहादुर थापाले प्याराग्लाइडिङ्ग पाइलट समुदायको तर्फबाट शैक्षिक तथा सामाजिक क्रियाकलापमा सक्रिय फाउण्डेशनले कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका गरिब, मजदुर तथा अति विपन्नहरुलाई सहयोग पु–याउने उद्देश्यले राहत सामाग्री वितरण गरिएको जनाउनु भएको छ ।

फोटो: मनशान्त घिमिरे

पोखरा–१८ का वडा अध्यक्ष रणबहादुर थापाको प्रमुख आतिथ्यतामा, सेदी टोल विकास संस्थाका अध्यक्ष झपट बहादुर थापाको विशेष उपस्थितिमा प्रभावितहरुलाई राहत सामाग्री वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा प्रभात आधारभुत विद्यालयका शिक्षक कृष्णप्रसाद कोइरालाले आफ्ना भनाइहरु राख्दै यो अफठ्यारो परिस्थितिमा कर्मफ्लाइट्स फाउण्डेशनले गरेको सामाजिक कामको सराहना गर्नुका साथै मिलिजुली बस्ने, बांडीचुडी खाने र एक अर्काको रेखदेख गर्नु हामी नेपालीहरुको मौलिक संस्कृति रहेको बताउनु भयो ।

राहत वितरण कार्यक्रममा स्थानीय आमा समुहका प्रतिनिधि, फेवा पर्यटन समाजका अध्यक्ष राम राई, अम्बिका ममता क्लबका अध्यक्ष रमेश थापा, नेपाल प्याराग्लाइडिङ्ग पाइलटस क्लबका अध्यक्ष विमल पहारी, स्थानीय समाजसेवी, बुद्धिजिवीको विशेष उपस्थिति रहेको थियो ।

फोटो: मनशान्त घिमिरे

राहत वितरण कार्यक्रमको शुरुवात हुनूभन्दा अगाडि कर्म फ्लाइट्सका स्टाफहरुको अगुवाइमा प्याराग्लाइडिङ्ग प्याकिङ्गग बोइजहरु, युवाहरु र विदेशी भोलिन्टियरहरुको टीमले बंगलादी, गैराचौतारा, सेदी क्षेत्र तथा सनराइज ल्याडिङ्ग क्षेत्रमा फोहोरमैला टिपेर सरसफाइ गरेका थिए ।

राहत कार्यक्रम सेदी, टोल विकास संस्था, नेपाल प्याराग्लाइडिङ्ग क्लब तथा बुद्धिजिवी समाजसेवी कृष्ष थापा र वडा नं १८ लगायतको विशेष सिफारिसमा कर्म फ्लाइट्स फाउण्डेशन नेपालले ९० घरधुरीलाई जम्मा रु २१६,०००/- (अक्षरुपी दुइ लाख सोह्र हजार मात्र) बराबर राहत वितरण रहेको र आगामी बुधवार सेदी डाँडामा रहेको श्री प्रभात आधारभुत विद्यालयमा अध्ययनरत ५५ जना बालबालिकाहरुलाई पोशाक, शैक्षिक सामाग्री, जुत्ता मोजा तथा मास्क लगायत व्यक्तिगत सरसफाई सामाग्री वितरण गरि विद्यालय खोल्न सहयोग पुग्ने गरि काम गर्न लागेको संस्थाका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले बताए ।

फोटो: मनशान्त घिमिरे