
फाइल तस्विर
पोखरा, २ भदौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारत ८७ वर्षीय पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १६ का ८७ वर्षीय बृद्धको मंगलवार बिहान १०ः४० बजेको समयमा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा. डा अर्जुन आचार्यले जानकारी दिए ।
साउन ३२ गते उच्च ज्वरो आई भदौ १ गते कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत उनको मृत्यु भएको हो ।
ती बृद्धमा मधुमेह, उच्च रक्तचाप र किड्नीको समस्या रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी चौथो व्यक्ति हुन् ।
उनीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । गएराती पोखराको कास्की सेवा अस्पतालमा तनहुँकी ५० वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
