
पोखरा, २५ भदौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार बिहानसम्म कोरोना भाइरस संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख २३९ पुगेको छ ।
कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । अमेरिकामा हालसम्म १ लाख ९० हजार ७६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमणबाट १ लाख २७ हजार ४६४ जनाको ज्यान गएको छ । धेरै ज्यान गुमाउने देशको सूचिमा तेस्रो स्थानमा रहेको भारतमा ७३ हजार ८९० जना रहेको छ भने चौथो स्थानमा रहेको मेक्सिकोमा ६८ हजार ४८४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको छ ।
चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा २ करोड ७६ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७६ लाख ९९ हजार ९७४ पुगेको छ ।
विश्वभर कोरोना निको हुनेको संख्या १ करोड ८६ लाख ३६ हजार ४२६ जना रहेको छ । सबैभन्दा धेरै निको हुनेको सूचिमा पहिलो स्थानमा ब्राजिल छ भने दोस्रोमा भारत छ । ब्राजिलमा हालसम्म ३५ लाख ७२ हजार ४२१ जना निको भएका छन् भने भारतमा ३३ लाख ९८ हजार ८४४ जना निको भएको तथ्याङ्क छ । कोरोना निको हुनेको तेस्रो स्थानमा रहेको अमेरिकामा २३ लाख ८७ हजार ४७९ जना रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।