
पोखरा, २५ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बिहीवारसम्म होम आइसोलेसनमा ६ हजार ४ सय ३८ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १४ हजार ४ सय ४८ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ८ लाख १० हजार ४ सय ८५ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बिहीवारसम्म क्वारेन्टाइनमा ५ हजार ८ सय ६ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ८ सय १८ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ३५ हजार ७ सय रहेको प्रवक्ता डा गौतमले बताए ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा मृत्यु हुनेमा १ महिला र ३ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंकी ५५ वर्षीया रहेका छन् ।
यस्तै पुरुषहरुमा काठमाडौंका ५९ वर्षीय र ८३ वर्षीय रहेका छन । त्यस्तै चितवनका ६२ वर्षीय र कपिलवस्तुका २९ वर्षीय गरी ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ।