मेट्रोसिटीका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, गण्डकी प्रदेशमा फेरि १७ जना संक्रमित थपिए

-


     मर्दी न्युज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित


पोखरा, २६ भदौ । गण्डकी प्रदेशमा फेरि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ जिल्ला कास्की, लमजुङ र पर्वतमा संक्रमित फेला परेका हुन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ६४ पुगेको छ । यसअघि आजै बिहान ४ जिल्लाका १७ जनामा कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार दोस्रो पटक जारी गरेको विज्ञप्ति अनुसार पोखरा मेट्रोसिटी अस्पतालका ३२ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ भने सोही अस्पतालमा उपचाररत ३५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखराका १०, लमजुङका ५ र पर्वतका २ जनामा कोरोना संक्रमण देखिएको हो । पोखरामा महानगरपालिका वार्ड १७ र ३६ वर्षीय पुरुष, २६ का ३६ र ५० वर्षीया महिला, ३० का ४९ वर्षीय पुरुष, ७ का २५ र ३४ वर्षीय पुरुष र २७ का २२ र २९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

लमजुङका संक्रमितमध्ये २१ वर्षीया युवती जिल्ला सामुदायिक अस्पताल लमजुङमा कार्यरत स्वास्थ्यकर्मी भएको निर्देशक शर्माले जनाए । बाँकी संक्रमित सबैलाई कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशक डा. शर्माले जानकारी गराएका छन् । उनका अनुसार संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ ।



Tags: