
पोखरा, २७ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शनिवारसम्म होम आइसोलेसनमा ६ हजार १ सय ५३ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १ सय ७ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १५ हजार २ सय ६० जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय ७६ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ८ लाख ३१ हजार ३ सय ६२ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शनिवारसम्म क्वारेन्टाइनमा ६ हजार ३ सय ५४ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ८ सय ५२ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ३७ हजार ५ सय २४ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा १४ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । ससँगै नेपालमा मृतकको कुल संख्या ३ सय ३६ पुगेको छ ।