
पोखरा, ३० भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मंगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख ७९ हजार १३० जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६५ लाख ५३ हजार १ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ४८ लाख ४६ हजार ४२७ पुगेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४३ लाख ४५ हजार ६१० पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ९ लाख २६ हजार ९२३ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ९४ हजार ४६७ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख ३२ हजार ६ जनाको ज्यान गएको छ । यसैगरी धेरै ज्यान गुमाउनेको सूचिमा तेस्रो स्थानमा रहेको भारतमा ७९ हजार ७२२ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोना निको हुनेको संख्या १ करोड ९७ लाख ६३ हजार २८६ जना रहेको छ ।