
पोखरा, ३० भदौ । गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ७ जिल्लाका ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलवार जारी गरेको विज्ञप्तिअनुसार कास्कीमा ३, तनहुँमा ९, गोरखा १, लमजुङमा १, स्याङ्जामा १२, नवलपरासी (ब.सु.पू.)मा २० र मनाङमा १ जना थपिएका हुन् ।
आज संक्रमितहरुमा तनहुँ शुक्लागण्डकी नगरपालिका १० का २३ वर्षीया महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् भने पोखरा १ र १४ का पुरुष नमूना परीक्षणको लागि प्रतिष्ठानमा आएका व्यक्तिहरु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
त्यस्तै पोखरा महानगरका ३२ वर्षीया महिला मेट्रोसिटी अस्पतालमा कार्यरत सफाई कर्मचारी भएको निर्देशक शर्माले जनाएका छन् । लमजुङ १ का ७० वर्षीय पुरुष जिल्लाको मोडल अस्पतालमा उपचाररत हुन् भने अन्य सबै कन्ट्याक ट्रेसिङमार्फत पहिचान भएको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १२ पुगेको छ ।
तीमध्ये १८ सय ९५ जना निको भएका छन् भने ३० संक्रमितको मृत्यु भएको छ । निर्देशनालयलका अनुसार गोरखा जिल्लाको बारपाक सुलिकोट ८ की ६३ वर्षीया महिलाको हिजो वीरेन्द्र अस्पताल छाउनी काठमाडौंमा निधन भएको छ । क्यान्सर पीडित उनलाई भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै प्रदेशमा मृतकको संख्या ३० पुगेको हो ।
यसअघि मृत्यु हुनेमा कास्कीका ९, नवलपुर र गोरखाका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

