थप १५१३ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     असाेज १३ गते २०७७ मा प्रकाशित


पोखरा, १३ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । नेपालमा सक्रिय संक्रमित संख्या २० हजार ३ सय ९६ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८ सय ७१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १० लाख ९ हजार २ सय ९८ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी मंगलवारसम्म क्वारेन्टाइनमा ५ हजार ७ सय ७८ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ७ सय ३१ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ५५ हजार ३ सय ७१ रहेको प्रवक्ता डा गौतमले बताए ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा १० जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।



Tags: