गण्डकी प्रदेशमा बुधवार मात्रै ७७ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     असाेज १४ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा बुधवार मात्रै थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधवार तीन पटक गरी जारी गरेको विज्ञप्तिअनुसार सबैभन्दा धेरै नवलपरासी (ब.सु.पू.)मा ३३ जना थपिएका छन् । त्यस्तै आज धेरै थपिने जिल्लामा दोस्रो स्थानमा कास्की रहेको छ । कास्कीमा ३१ जना थपिएका छन् । त्यस्तै आज संक्रमण पुष्टि हुनेमा बागलुङका ७ जना, तनहुँका ३ जना, गोरखाका २ जना र लमजुङका १ जना रहेका छन् ।

निर्देशनालयले पछिल्लो पटक जारी गरेको अध्यावधिक विवरण अनुसार कास्कीका संक्रमितमध्ये वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत ४ पुरुष र ३ महिला गरी ७ जना प्रहरी रहेका छन् ।

त्यस्तै बागलुङ जिल्ला, बागलुङ नगरपालिकामा कार्यरत ३ जना पुरुषहरु नेपाली सेना र २ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन् भने ११ नं. वडाका ३३ वर्षीय पुरुष सार्वजनिक सवारी चालक हुन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय १० पुगेको छ । यसमध्ये २ हजार ७ सय ३५ जनामा कोरोना निको भएका छन् भने ३३ जनाको संक्रमणबाट ज्यान गएको छ । जसमा सबैभन्दा धेरै मृत्यु हुने जिल्लामा कास्की रहेको छ । कास्कीमा हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् भने गोरखाका ६, तनहुँका ५, नवलपुरका ६, स्याङ्जाका ३, बागलुङ र म्याग्दीका १÷१ जना रहेका छन् ।



Tags: