
प्रधानमन्त्री केपी शर्मा ओलीले बुढी गण्डकीका बारेमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन्। उनले भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार र निराधार भएको बताएका छन्।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकीमा ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
शुक्रबार नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले त्यस्तो अनैतिक हर्कत नगर्ने बताएका छन्।
‘केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्णय नभएको, कार्यारम्भ नभएको र हुन्छ–हुँदैन भन्ने निश्चितसमेत नभएको परियोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले अरब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको सुनेको छु।’
जनतालाई गलत सूचना दिएर भड्काउने र गलत बाटोमा लैजाने काम गर्न नसक्ने उनले बतए । प्रधानमन्त्री ओलीले अपराधविरुद्ध र भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको बताउँदै अन्य कुरामा भने सहनशीलताका साथ सरकार अघि बढेको बताए।