
पोखरा, १९ कात्तिक । पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बुधवारसम्म होम आइसोलेसनमा ३० हजार १ सय ३१ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ८० जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३६ हजार ९ सय ११ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १४ लाख ९४ हजार १ सय २२ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा १ हजार ३ सय ५ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा ३० जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

