
पोखरा । विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुईमध्ये १ बालकको शव फेला परेको छ । पोखरा महानगरपालिका १४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको शव मंगलबार दिउँसो भेटिएको हो । साउन ३० गते विजयपुर खोला तर्ने क्रममा उनलाई भेलले बगाएको थियो । ३ दिनदेखिको निरन्तर खोजीपछि उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
निक्सनको शव घटनास्थलबाट करिब १.५ किलोमिटर तल भेटिएको हो । पोखरा १४ चाउथेस्थित गोरखा भिलेज पछाडिको खोचमा शव देखिएको थियो । भत्किएको पर्खालको रडभित्र शव अड्किएकाले एक्साभेटरको सहायताले बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ । मृतकका हजुरबुबा फत्तबहादुर गुरुङले शवको पहिचान गरेका छन् ।
साउन ३० गते दिउँसो १ बजेतिर उनीहरु विजयपुर खोला तर्दै थिए । पोखरा २६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकैबाट खोला तर्ने क्रममा उनीहरुलाई बगाएको थियो । निक्सनसँगै १५ वर्षीय ओमन राई पनि बेपत्ता भएका थिए । ओमनको अवस्था भने अझै अज्ञात छ । उनी खोटाङ घर भई पोखरा १४ चाउथेमा डेरा गरी बस्थे ।
बेपत्ताको खोजीमा सशस्त्र प्रहरीको गोताखोरसहितको टोली खटिएको थियो । नम्बर २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा ११ जनाको टोली परिचालन भएको थियो । टोलीले रोप रेस्क्यु विधि प्रयोग गरी खोजी गरेको थियो । सशस्त्र प्रहरी हवल्दार सूर्यबहादुर थापा र सहायक हवल्दार किरण सुवेदी ६० देखि ७० मिटर तल खोचमा पुगेर खोजी गरेका थिए ।
नेपाल प्रहरी र नेपाली सेना पनि खोजी कार्यमा सक्रिय थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवान ७ जनाको टोली लिएर घटनास्थल पुगेका थिए । नेपाली सेनाका क्याप्टेन उमंग श्रेष्ठको कमाण्डमा ७ जनाको टोली पनि खोजीमा संलग्न थियो । पोखरा १४ की वडा सदस्य तनुजा थापा सीकेको रोहवरमा ड्रोन प्रयोग गरेर समेत खोजी गरिएको थियो ।
यसअघि साउन ३१ गते जिल्ला सुरक्षा समिति कास्कीका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले घटनास्थलको अनुगमन गरेका थिए । सेनाका उपसेनानी प्रमोद केसीको कमाण्डमा ९ जनाको टोली पनि खोजीमा जुटेको थियो । इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकी र वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको टोलीले पनि खोजी जारी राखेका थिए ।
यस्तै साउन ३१ गते प्रहरी निरीक्षक रामजी देवकोटाको कमाण्डमा ७ जना र सशस्त्र प्रहरी बेस क्याम्प कुँडहरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डमा ९ जनाको गोताखोर टोली खटिएको थियो । भदौ १ गते पनि इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक सुरेन्द्र रानाभाटको नेतृत्वमा खोजी भएको थियो ।
बेपत्ता भएका अर्का बालक ओमन राईको खोजीका लागि सुरक्षाकर्मीको टोली अझै सक्रिय रहेको कास्की प्रहरीले जनाएको छ ।

