
पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत कास्कीका २ जनासहित गण्डकी प्रदेशमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक÷एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान पौने ४ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको छ । कात्तिक २४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनमा निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
त्यस्तै पोखरा ९ की ८३ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान साढे ७ बजे फिस्टेल अस्पतालमा निधन भएको छ । कात्तिक २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनमा निमोनिया, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या थियो ।
यस्तै लमजुङ बेशीसहर ५ का ७१ वर्षीय पुरुष कोरोना संक्रमितको बुधबार बेलुका पौने ७ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । उनमा कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया र हेपटाइटिसको समस्या रहेको जनाइएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३० पुगेको छ । त्यस्तै स्वास्थ्य निर्देशनालयको पछिल्लो अध्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ६ सय ८१ पुगेको छ ।

