पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोखराका थप ४ संक्रमितको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित


पोखरा, ५ मंसिर । कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोखराका थप ४ जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भई उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिका ९ का ६८ वर्षीय पुरुषको हिजो राती ११ बजे मृत्यु भएको हो । त्यस्तै पोखरा २१ का ७५ वर्षीय पुरुषको पनि हिजो राती ११ः२० मा मृत्यु भएको हो । उनीहरु दुवै जना हिजो बिहीवार नै उपचारका लागि त्यस कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनीहरु दुवैलाई निमोनिया रहेको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिएका छन् ।

त्यस्तै पोखरा १७ का २९ वर्षीय पुरुषको आज बिहान १२ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै पोखरा १३ कै ५५ वर्षीय पुरुषको पनि आज बिहान ४ः१५ बजे निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई मधुमेह, मिर्गौलासम्बन्धी समस्या रहेको जनाइएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ ।



Tags: