
पोखरा । पोखरा पर्यटन परिषद अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित भएका छन् । पोखरामा शुक्रवार भएको परिषद्को ११ औं अधिवेशनबाट अध्यक्षमा गोपीबहादुर भट्टराईसहित कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
परिषद् उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । यसैगरी सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भएका छन् भने बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन गर्ने छ ।
अधिवेशन उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । मुख्यमन्त्री गुरुङले कोभिड –१९ को महामारीका बीच स्वास्थ्य सतर्कता अपनाएर पर्यटनलाई चलायमान बनाउनुपर्ने बताए । कोरोनाको त्रासले बाँधिएर नभइ अब स्वास्थ्य सतर्कतामा ध्यान दिएर पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी उनले आउँदो सालसम्ममा सर्वोच्चको फैसला कार्यान्वयन हुने, फेवातालको नक्साङंकन र सिमांकन तथा आवस्यक मुआव्जा बितरण हुने, रत्नमन्दिर तथा हिमागृह सर्वसाधारणको लागि खुल्ला गरिने, पोखरालाई सौन्दर्यिकरण तथा बिसुद्ध पर्यटकीय शहरको रूपमा विकाश गरिने बताए ।
अध्यक्ष चिरञ्जीवी पोखरेल कोरोना संक्रमित भइ स्वास्थलाभ लिइरहेको कारण डिजिटल श्रब्यदृष्यमार्फत शुभकामना व्यक्त गरेका थिए । यसैगरी संस्थापक अध्यक्ष अशोक पालिखेले २०५२ साल साउन १० गते पोखरा पर्यटन परिषदको स्थापना भई अहिले २५ वर्षको अवधिमा संस्थाले बेहोरेका आरोह अवरोहहरु बारेमा मन्तव्य राखेका थिए ।
पोखराको पर्यटनको प्रबर्द्धनमा टेवा पुर्याएको र सक्रियतापूर्वक कलम चलाउने नागरिक राष्ट्रिय दैनिकका पत्रकार सन्तोष पोखरेललाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । संस्थापक अध्यक्ष लगायत सम्पूर्ण पूर्व अध्यक्षहरु, विभिन्न संघ र संस्थाहरु तथा परिषदका कर्मचारीहरु लाई सम्मानित गरिएको थियो।