कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

-


     मर्दी न्युज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको बताएका छन्।

बुधबार तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

‘भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु’, पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्।’

संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेकपाका स्थानीय  नेता कार्यकर्ताले बिरोध जनाएका थिए ।

बुधबार पौडेलले पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन  कार्यालयले कोरोना भाइरस महामारीका कारण धेरै मानिस भेला हुनु उपयुक्त नहुने भन्दै पुल उद्घाटन स्थगित गर्न अनुरोध गरेको थियो र मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरिएको थियो।

बुधबार पौडेल कांग्रेस कार्यकर्तासहितको ठूलो समूह पुल उद्घाटन गर्न पुगेका थिए । तर प्रहरीले निषेधाज्ञा लगाइएको भन्दै पौडेललाई नियन्त्रणमा लिएको हो ।