
पोखरा, १९ मंसिर । पोखराका ७१ जनासहित गण्डकी प्रदेशमा थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रवार प्रदेशका ५ जिल्लामा १५६ नमूना परीक्षण गर्दा ८३ जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका ७१, म्याग्दीका ९, स्याङ्जाका २, तनहुँ र बागलुङका १÷१ जना रहेका छन् ।
यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ४७९ पुगेको छ । तीमध्ये ७ हजार २ सय ९१ जना निको भएका छन् । प्रदेशमा शुक्रवारसम्म ५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशमा आज थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित गण्डकीमा मृतक संख्या १ सय ६३ को पुगेको छ ।