
सन थापा,
जापान । जापानमा शनिबार ३ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण संख्या ३ हजार नाघेको पहिलो पटक हो भने अहिलेसम्मकै सबै रेकर्ड तोडेको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमित संख्या १ लाख ७८ हजार ९ सय ५४ जना संक्रमण पुगेको छ । डिसेम्बर १० मा ३८ हजार १ सय २९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
त्यसैगरी हालसम्म योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार ५ सय ९५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट होक्काईदोमा र ओसाकामा छ/छ, ह्योगोमा चार र खानागावामा तीन, गुन्मामा दुई, क्योतो, गिफु, आईची, मिए, नारा, सिजुओका र निगाता प्रान्तमा एक/एक गरी २८ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
संक्रमितमध्ये २३ हजार ८ सय ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ५ सय ७८ जनाको अवस्था गम्भीर रहेको छ ।
यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ४८ हजार १ सय ८३ जना कोरोना संक्रमित निको भएका छन् ।
राजधानी टोकियोमा अहिलेसम्मकै उच्च ६ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित संख्या ४६ हजार ७ सय ४५ जना पुगेको छ । १ हजार ८ सय ७८ जना अस्पतालहरूमा उपचाररत छन् भने ६८ जना गम्भीर बिरामी छन् ।
४७ प्रान्त मध्ये चार प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने ओसाकामा ४ सय २९, खानागावामा २ सय २३, आईचीमा २ सय छ , साईतामा १ सय ९९, होक्काईदोमा १ सय ८९, ह्योगोमा १ सय ३७, चिबामा १ सय २१, हिरोसीमामा १ सय चार जना थपिए ।
३ हजार बढी संक्रमित संख्या भएका प्रान्तहरू
ओसाकामा २४ हजार ६ सय २१, खानागावामा १४ हजार ८ सय २१,आईचीमा १२ हजार ५ सय ३९, होक्काईदोमा ११ हजार १ सय ७१, साईतामामा १० हजार २ सय ९४, चिबामा ८ हजार ६३, ह्योगोमा ७ हजार २ सय २८, फुकुओकामा ६ हजार ५ सय २१, ओकिनावामा ४ हजार ७ सय ८५ र क्योतोमा ३ हजार २ सय आठजना पुगेको छ ।

