नेकपा स्थायी कमिटी बैठक सुरु

-


     मर्दी न्युज    
     पुस १ गते २०७७ मा प्रकाशित


फाइल तस्बिर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन घण्टा ढिला गरेर सुरु भएको छ । यसअघि मंसिर २८ गते आइतबार बसेको स्थायी कमिटी बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो।

पूर्वनिर्धारित मिति अनुसार नै बुधबार स्थायी कमिटी बैठक बसेको हो। यसअघिको बैठक मंसिर २१ गते पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बस्ने भनिएकोमा बालुवाटारमा बसेको थियो । बैठक अगाडि ओली र प्रचण्ड बीच दुई चरणमा भेटवार्ता भएको थियो ।

आजको बैठकमा पार्टी भित्र देखिएको संकटबारे छलफल हुने एजेण्डा पूर्व निर्धारित छ । तर, सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मनमुटाव बढेको थियो ।

राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ। अध्यादेशसम्बन्धी विवाद अदालतसम्म पुगेको छ । बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट समेत पेश गरेका छन्।

त्यस्तै सत्तारुढ दल भित्रै नेकपाका असन्तुष्ट नेताले समेत आपत्ति जनाएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले अध्यादेश फिर्ता लिनुपर्ने अडान लिएका छन्। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ ।