संरक्षित ध्वाँसे चितुवाको उद्धार सँगै संरक्षण क्षेत्रमा नयाँ उत्साह

-


     मर्दी न्युज    
     पुस १४ गते २०७७ मा प्रकाशित


उद्धार केन्द्रमा तङ्ग्रीदै गरेको ध्वाँसे चितुवा फोटोः चुङबा शेर्पा

संरक्षित स्तनधारी प्रजाति ध्वाँसे चितुवा बुधशान्ति–१ झापाबाट हालसालै उद्धार गरिएको छ । उद्धार गरिएको उक्त प्रजातिलाई डिभिजन वन कार्यालय ईलाम र झापाको समन्वय तथा प्रहरी, प्रसाशन, स्थानिय जनप्रतिनिधी र स्थानीय जनताको रोहबरमा उपचारको लागि प्रदेश स्तरीय जामुनखाडी वन्यजन्तु उद्धार केन्द्र झापामा लगिएको छ ।

समुन्द्री सतह बाट २५० देखि ३५०० मिटर सम्म सम्म नेपालमा भेटिने यो प्रजातिलाई इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. १ र ४ तथा झापा जिल्लाको बुधशान्ति गाउँपालिका वडा नं. १ र २ मा अबस्थित तीन तले सामुदायीक वन उपभोक्ता समुहको क्षेत्र नजिक पर्ने बस्तीमा स्थानियले घाइते बनाएको अबस्थामा डिभिजन वन कार्यालय ईलामका रेञ्जर रमेश सिवाकोटीको टोलीले नियमित गस्तीको क्रममा भेटेका थिए । बिहान ८ बजे भेटेको उक्त चितुवालाई झापाको वन क्षेत्रमा परेकोले कानुनी प्रक्रिया पुर्र्याएर खोरमा राखी उद्धार केन्द्रमा पुर्र्याउँदा दिउँसोको करिब १ बजेको थियो ।

झण्डै शरिरको भाग बराबर पुच्छर हुने यस प्रजातिको उक्त पोथी चितुवालाई हाल चितवनवाट गएको बिज्ञ टोलीले उपचार गरिरहेको रेञ्जर सिवाकोटीले जानकारी दिनुभएको छ । त्यसै गरि वन्यजन्तु संरक्षण ऐन २०२९ बाट संरक्षित यस प्रजातिको फोटो तथा जानकारी लिन चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको फोटो खिच्न गएका हाइल्याण्डर वन्यजन्तु फोटोग्राफर चुङबा शेर्पा चितवन बाटै ४७० कि.मि. ड्राईभ गरि राता रात उद्धार केन्द्र पुगेका थिए ।

उद्धार गर्नु अगाडि, फोटोः रमेश सिवाकोटी

पछिल्लो समयमा देशका धेरै स्थान तथा कतिपय शहरहरुमा दिन दहाडै मान्छे तथा पशुपंछीलाई आक्रमण गर्ने चितुवा र यो ध्वाँसे चितुवाको चालचलनमा निकै भिन्नता रहेको पाईन्छ । तर चितुवाहरु एउटै देखिनाले र स्थानियले एउटै प्रजाति हो झुक्किएर आक्रमण गरेको हुन सक्ने बिज्ञहरु बताउँछन् ।

सन् २००९ देखि ध्वाँसे चितुवामा अध्ययन अनुसन्धान गरेका तथा प्रकृतिका साथीहरु नामक संस्थाका वन्यजन्तु अनुसन्धान तथा संरक्षण निर्देशक यादव घिमिरे भन्नुहुन्छः हालसम्म मानव वन्यजन्तु द्धन्द्धमा खासै नभेटिएको यो प्रजाति जंगलमा भौतारिएको अबस्थामा वा अस्वस्थ्य भएकोले जंगल बाहिर मानिसको सम्पर्कमा पुगेको हुन सक्छ र यसरी भेटिएको यो अभिलेख निकै महत्वपूर्ण पनि हो किन भने नेपालमा कहाँ कहाँ पाइन्छ भनेर यसको हालसम्म पूर्णरुपमा जानकारी छैन ।

प्रायः गरि घना वन क्षेत्रमा दिनभर सुत्ने, अति लजालु तथा निशाचार यो ध्वाँसे चितुवा नेपालमा अत्यन्तै कम स्थान तथा कम मात्रामा देखिने प्रजाति हो । नेपालमा यो प्रजातिको हालसम्म कुनै बैज्ञानिक अनुसन्धान नभए पनि यसले आहाराको रुपमा किसानलाई अत्याधिक सताउने बाँदर, मृग, लोखर्के तथा बँदेलका साना बच्चाहरु खाई वातावरण सन्तुलन राख्नका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

१९ औ शताब्दीमा ब्रायन हडसनले नेपालमा पहिलो पटक नमुना संकलन गरेको यो प्रजाति सन् १८६० पछि नेपालबाट लोप भएको हुन सक्ने अड्कल गरिएको थियो । पर्याप्त मात्रामा अध्ययन, अनुसन्धान तथा खोज नगरिएको कारणले अड्कलबाजी गरिए पनि सन् १९८७ मा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नवलपरासीमा पून देखिएको थियो । उक्त प्रजातिलाई निकुञ्जको प्रयासमा रेडियो कलर गरि निकुञ्जमै छोडिए पनि केहि दिन सम्पर्कमा रहि आहारा, उचित बासस्थान तथा प्रतिस्प्रर्धी जनावारहरुको कारणले सम्पर्क बाहिर गएको थियो ।

उद्धार केन्द्रमा लैजादैं, फोटोः रमेश सिवाकोटी

त्यसै गरि सन् १९८८ मा एक झुण्ड कुकुरको आक्रमणमा परि पोखरा उपत्यकामा एक बयस्क ध्वाँसे चितुवा मरेको भेटिएको थियो । त्यसपछिका समयमा पूर्वमा सुनसरी देखि मध्यमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज तथा पश्चिममा अन्नपूर्ण संरक्षित क्षेत्र आयोजना सम्म आधिकारीक रुपमा भेटिएको बताउनुहुन्छ अनुसन्धानकर्मी घिमिरे ।

यसै सन्दर्भमा अघिल्लो वर्षबाट प्रकृतिका साथीहरु नामक संस्थाले अन्नपूर्ण संरक्षण क्षेत्रको कास्की जिल्लाको ताङतिङ गाउँमा नेपालमै पहिलोपल्ट यस प्रजातिको बारेमा “प्रोटेक्ट द क्लाउडेड लियोपार्ड, नेपाल” भन्ने प्रोजेक्ट गरि रहेको बताउनुहुन्छ त्यस संस्थाका निर्देशक राजु आचार्य ।

नेपालमा वन्यजन्तु उद्धार तथा पुर्नस्थापना केन्द्रहरुको अभावमा बर्षेनी सयौंको संख्यामा साधारण तथा संरक्षित वन्यजन्तुहरु मर्ने गरेका छन् । वन्यजन्तुहरुलाई उद्धार गरिसके पनि एनटिएनसि वा केहि स्थानमा मात्र दक्ष भेटेनरी तथा जनशक्ति द्धारा उपचार हुने गरेका छन् । उपचार पश्चात प्राकृतिक रुपमा पुर्नस्थापनामा केहि अपबाद बाहेक सामुदायीक तथा मध्यबर्ती क्षेत्रहरुका मिनी जूहरुमा वन्यजन्तुहरु पुर्याईदा स्थानिय सरोकारवालाहरुनै मुक दर्शक बनेको घटनाहरु बग्रेल्ती भेटिन्छन् ।

त्यसैगरि कतिपय संरक्षित, अत्याधिक चोरी शिकार, लोपोन्मुख प्रजातिहरुको पुर्नस्थापनाका घटनाहरुमा स्थान, वनक्षेत्र आदि लगाएतका महत्वपूर्ण सुचनाहरु सामाजिक सञ्जाल तथा प्रतिष्ठित सञ्चार माध्यमहरुबाटै सर्वसाधरणलाई जानकारी दिँदा प्रजातिको बारेमा हुठहुठी चल्ने वर्ग तथा चोरलाई बाटो देखाईदिए सरह भएको बताउनुहुन्छ संरक्षण तथा अनुसन्धानकर्मी चिरञ्जिबी खनाल ।

आशा गरौं, वातावरण सन्तुलन राख्नमा मद्दत पुर्याउने यो ध्वाँसे चितुवा उपचार पश्चात आफ्नो सुरक्षित बासस्थानमा फर्किनेछ र आउँने पिढींलाई आफ्ना गाथा सुनाउने छ । पूर्ण विश्वास र कामना सहित ।