जापानमा वर्षको अन्तमा सर्वाधिक ४५२० जना संक्रमित, टोकियोमा मात्र १३३७ थपिए

-


     मर्दी न्युज    
     पुस १६ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । डिसेम्बर ३१ । जापानमा यस वर्षको अन्तिम दिन बिहीबार ४ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सर्वाधिक संख्या हो । यसअघि उच्च दर डिसेम्बर ३६ मा ३ हजार ८ सय ८० जना संक्रमित भएका थिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार ४ सय ६४ जना पुगेको छ ।

टोकियोमा पनि अहिलेसम्मकै उच्च

राजधानी टोकियोमा पनि अहिलेसम्मकै उच्च १ हजार ३ सय ३७ जना संक्रमित थपिए । १ हजार भन्दा बढी संक्रमित भएको पहिलो पटक हो । यहाँ संक्रमित संख्या ६० हजार १ सय ७७ जना पुगेको छ भने ६ सय २७ जनाको मृत्यु भएको छ ।

यसैबिच प्रधानमन्त्री योशीहिदे सुगाले सुरक्षित चिकित्सा प्रणाली र संक्रमण नियन्त्रणका लागि सबै शक्ति अबलम्बन गरिने बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले स्थानीय सरकारसँग मिलेर काम गरिरहेको र आपतकालीन अवस्था घोषणा बारे सोचिरहेको धारणा व्यक्त गरे । त्यस्तै टोकियो महानगरका गभर्नर युरिको कोईकेले नगरबासीलाई छुट्टीको समयमा घरमै बस्न आग्रह गरेका छन् । स्वास्थ्यविज्ञहरूले यसरी नै संक्रमणदर जारी रहेमा राजधानीको अस्पतालहरूमा शैय्या अभाव हुने चेतावनी दिएका छन् ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित जापानभर मृत्यु हुने संख्या ३ हजार ५ सय पाँच जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यसैगरी ओसाकामा नौ, हिरोसीमामा छ,, होक्काईदो,आईचीमा र टोकियोमा पाँच/ पाँच, खानागावामा तीन, ह्योगो, साईतामा र मियागीमा दुई/दुई, क्योतो, चिबा, गिफु, मिए, गिफु, फुकुई, इसिखावा, गुन्मा, कोची प्रान्तमा एक/एक ४९ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ३४ हजार ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६ सय ८१ जनाको अवस्था गम्भीर रहेको छ ।

यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ९२ हजार १ सय १० जना कोरोना संक्रमित निको भएका छन् ।

सिमाने प्रान्त बाहेक ४६ प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू खानागावामा ५ सय ८८, ओसाकामा ३ सय १३, आईचीमा २ सय ३९, साईतामामा ३ सय ३०, चिबामा २ सय ५२, फुकुओकामा १ सय ९०, ह्योगोमा १ सय ९३, होक्काईदोमा १ सय ६७ र क्योतोमा १ सय नौ जना थपिए ।

बढी संक्रमित संख्या भएका प्रान्तहरू

ओसाकामा २९ हजार ९ सय ९९, खानागावामा २१ हजार २ सय ६२, आईचीमा १६ हजार ५ सय ७२,साईतामामा १४ हजार २ सय ९५, होक्काईदोमा १३ हजार ४ सय ४२,चिबामा ११ हजार ६३,ह्योगोमा १० हजार चार,फुकुओकामा ८ हजार ९ सय ६४, ओकिनावामा ५ हजार ३ सय ६५ र क्योतोमा ४ हजार ८ सय तीन, हिरोसीमामा ३ हजार ३ सय १९ जना पुगेको छ ।