आज गण्डकी प्रदेशको विशेष अधिवेशन

-


     मर्दी न्युज    
     पुस २१ गते २०७७ मा प्रकाशित


पोखरा, २१ पुस । आजबाट गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदैछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रस र जनता समाजवादी पार्टीले माग गरेपछि विशेष अधिवेशन आह्वान गरिएको हो । कोभिड १९ को उपचार, नियन्त्रण, व्यवस्थापन, मूल्यवृद्धि, बेरोजगारी लगायतका विषयमा सरकारको जवाफ माग्दै गत ३० मंसिरमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए । त्यसै अनुसार आज १ बजे विशेष अधिवेशन बोलाइएको हो ।

संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशससभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार नेपाली कांग्रेसका १५ र जसपाका दुई सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए । त्यसै अनुसार प्रदेश प्रमुख अमिक शेरचनले पुस २१ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।

गण्डकी प्रदेश सरकारमा ६० जना सांसद छन् । जसमध्ये सभामुख बाहेक ३९ जना नेकपाका छन् । नेकपाका पनि ओली पक्षका २७ र प्रचण्ड– माधव पक्षका १२ जना छन् भने नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ जना सदस्य छन् ।