
काठमाडौं । स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।
आगामी बिहीबारसम्म प्रदेश नम्बर–१, २, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना छ ।
देशभर सोमबारसम्म मौसम सफा भई राम्रोसँग घाम लागेकाले अपराह्न अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको थियो । अब स्थानीय वायुको प्रभावले अपराह्न अधिकतम तापक्रम कम भई चिसो अनुभव हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ ।
काठमाडौं उपत्यकाको सोमबारको अधिकतम तापक्रम २३.७ डिग्री रहेकामा आज २१.८ डिग्री सेल्सियस छ ।
हाल देशको पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नम्बर–१, २, वाग्मती र गण्डकी प्रदेशमा अपराह्न आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको समेत सम्भावनाका साथै तराईका भूभागमा बाक्लो हुस्सु, कुहिराको सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३.६ डिग्री र सबैभन्दा धेरै सिमराको न्यूनतम तापक्रम १३.६ डिग्री सेल्सियस छ । रासस

