
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त गरेका छन्।
शुक्रबार दिउँसो ओलीले प्रमुख सचेतवकबाट गुरुङलाई हटाएर सांसद् विशाल भट्टराईलाई नियुक्त गरेका हुन्।
भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् । खोटाङबाट दुईपटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुन् । अनेरास्ववियुको राजनीतिबाट उदाएका उनी २०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति निर्वाचित भएका थिए ।
विधान अनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोयन गर्ने व्यवस्था नेकपामा छ ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । पार्टी विभाजनले कानुनी मान्यता नपाइसकेको अवस्थामा विधिवत रुपमा नेकपाको संसदीय दल एउटै छ । सो दलबाट प्रमुख सचेतक गुरुङ र सचेतक शान्ता चौधरी थिए । चौधरी सचेतकमा यथावत रहेको उपनेता नेम्वाङले बताए ।
नेकपा विभाजनपछि प्रमुख सचेतक गुरुङ प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा लागेका थिए। सोहीकारण ओलीले उनलाई प्रमुख सचेतक बनाएका हुन्।

