
काठमाडौँ । नेकपा प्रचण्ड-माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ ।
सोमबार पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकबाट बाहिरिएका नेता झलनाथ खनालले अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने बताएका हुन् ।
सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।
प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको असहमति हुँदाहुँदै पनि कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको बताए ।
बैठकमा अन्य नेताहरुले पनि अदालतको फैसला अनुरुप पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने धारणा राखेको नेता खनालले बताए ।

