
फोटोः मनशान्त घिमिरे
विश्वमै दुर्लभ तथा सङ्कटको नजिक रहेको लोभिपापी गरुडको अध्ययन अनुसन्धान एवं संरक्षणको कार्यक्रम सिन्धुपाल्चोक जिल्लामा हालै शुरु भएको छ । हङकङ पंछी अवलोकन समाजको आर्थिक सहयोगमा पोखरा पंछी समाजले यस कार्यक्रमको शुरुवात गरेको छ ।
नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् जसमध्ये ८ प्रजातिका गरुडहरु नेपालमा भेटिएका छन् । तिनै मध्येको एक दुर्लभ पंछी मानिन्छ लोभीपापी गरुड । सेतो ऊनजस्तो घाँटी र एसियामा मात्रै पाइने भएकाले यसलाई अंग्रेजीमा एसियन वुलिनेक (Asian Woollyneck) भनिन्छ । झट्ट हेर्दा कालो कोट लगाएको जस्तो देखिने भएर यसलाई भारतमा वकिल साहेब पनि भनिन्छ । नेपालमा कतै हिले गिद्द, कतै ठुंगीफोर त कतै भुँडीफोर भनेर पनि चिनिने भएपनि नेपालका चराहरु पुस्तकमा यसलाई लोभीपापी गरुड भनेर परिचय दिइएको पाइन्छ ।

किरा फट्यांग्रा तथा सर्प भ्यागुता खाएर बाच्ने यो पंछी बासस्थानको बिनास, गुँड लगाउने रुखको नासले गर्दा खतरामा परेको छ । पछिल्लो समय मात्रै अफ्रीकामा पाइने अफ्रिकी वुलिनेक र यो गरुड फरक प्रजाति भएको पत्ता लागेपछि यो गरुडको अवस्था खतरामा रहेको बुझिएको बताउँछन् बिगत पाँच बर्ष देखि यसै गरुडको अध्ययन, अनुसन्धान र संरक्षणमा लागेका युवा प्रशान्त घिमिरे । घिमिरेका अनुसार यो गरुडको अध्ययन अनुसन्धान निकै कम भएकाले नेपालमा यसको संरक्षण र अनुसन्धानमा पहल गरिएको हो ।

नेपालमा यो गरुड पुर्वको झापा देखि पश्चिमको कंचनपुर सम्म भेटिएको नेपालका संकटापन्न चराहरुको रातो किताबमा उल्लेख गरिएको छ । रुपन्देही लगायत प्युठान, अर्घाखाँची, सल्यान, जाजरकोट, धादिङ, कास्की एवम् सिन्दुपाल्चोकमा पनि भेटिएको घिमिरेकै अध्ययनले देखाएको छ । तर यी गरुडहरु सुरक्षित भने छैनन् । कति यी गरुडका गुँडबाटै अन्डा र बच्चा चोरिने, सिमसारको बिनास एवं खेतबालीमा रासायनिक मलहरुको प्रयोग बढ्नाले गरुडको अवस्थामा असर परेको छ ।
यी गरुडहरु मानिसकै घर वरपरका खेतबालीमा देखिन्छन् र यदि यी गरुडको बारेमा स्थानीय सचेत रहे मात्रै संरक्षण सम्भव हुने सिन्धुपाल्चोकमै यस गरुडको संरक्षण कार्यक्रममा खटिएका वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका बिधार्थी बिबेक बेलबासे बताउँछन् । यस संरक्षण कार्यक्रम अन्तर्गत बिद्यालय एवम् समुदायमा संरक्षण शिक्षा दिन सुरु गरिएको छ । यस गरुडको बारेमा थाहा पाएपछि स्थानीयहरुको उत्साह देखेर खुसि छन् अर्का अनुसन्धान सहयोगी रोशन पन्थी । पन्थी र बेलबासेले जलबिरे, भीमटार, मेलम्ची आसपासका बिद्यालय एवं समुदायमा संरक्षण शिक्षा कार्यक्रम गरिरहेका छन् ।

मेलम्ची आसपासमा गुँड भेटिएकाले यस गरुडबारे सचेतना जनाउने उद्देश्यले होर्डिङबोर्ड पनि स्थापना गरिएको छ । एक बर्ष सम्म चल्ने यस कार्यक्रममा लोभीपापी गरुडको गुँडबारे पनि अनुसन्धान गरिने अनुसन्धानकर्ता घिमिरे बताउँछन् । कोभिडको महामारी पश्चात एक बर्ष पछि सरेको यो कार्यक्रम पुन निरन्तरता पाउँदा खुसि ब्यक्त गर्दछन् पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे । गाउँ गाउँमा संरक्षणका प्रयासले यस्ता दुर्लभ पंछीहरुको संरक्षणमा ठुलो टेवा पुर्याउने कुरामा बिस्वस्त छन् अध्यक्ष घिमिरे ।

आशा गरौं, लोभीपापी गरुडको संरक्षण एवम् अनुसन्धानको कार्यक्रमले सिन्धुपाल्चोकमा मात्र नभई देसैभर यस्ता दुर्लभ पंछीहरुको संरक्षणमा टेवा पुर्याउनेछ ।

