चोखो प्रेमको कसीमा शिरसुबा

-


     मर्दी न्युज    
     चैत्र ११ गते २०७७ मा प्रकाशित


नेपाली सिने उद्योगको क्षेत्रमा गुरूङ फिल्म उद्योगले पनि आफनो राम्रै फड्को मार्न सकेको छ । नेपाली भाषामा गुरूङ परिवेशका चलचित्रहरू निर्माणक्रम तीव्ररूपमा बढेको छ । यसलाई सफलताको रूपमा मान्न सकिन्छ । हालै भदौ ६ गतेबाट प्रर्दशित भेज मेस्रो फिल्मस प्रोडक्सन घान्द्रुक प्रिन्जेन्टको प्रस्तुति शिरसुबा गुरूङ चलचित्र पोखरा मिडटाउन मुभि हलमा प्रर्दशन हुदै छ ।

बिमल गुरूङको कथा र माओत्से गुरूङको लेखन तथा निर्देशनमा नयां गुरूङ चलचित्र शिरसुबाले एउटा राम्रै छवि बनाउन सफल भएको छ । विशेष त यो नारी प्रधान चलचित्र हो । एउटा नारी कसरी दुःख सहेर परिस्थितिसंग लडेर बाँच्नु पर्छ? भन्ने कुरालाई देखाउन खोजिएको छ ।

२०७२ सालमा बिनासकारी महाभूकम्प पछि लाप्राक गाउँकी शिरसुबा आफना अविभाबक सबै गुमाए पछि बौद्व धर्म गुरूको आश्रयमा हुर्केकी थिइन् । कलकलाउँदो उमेरमा त्यही गाउँकै शंकर नाम गरेको युवासंग मायाप्रीति बसेपछि उनको दुःखको दिन शुरू हुन्छ । प्रेम कथाको आवरणमा यस चलचित्र विषेश त सामाजिक परिवेशका मुख्य विषय वस्तुहरूलाई देखाउने प्रयास गरेको छ ।

धन कमाउन विदेशिनुपर्ने अवस्था, पारिवारिक आर्थिक अवस्था, र सामाजिक रीतिरिवाज र प्रेम कथा यस फिल्मको मुख्य विषय वस्तु हुन । विषय वस्तु सामान्य भए पनि फिल्म शैली प्रस्तुतिकरणले सिनेमा उत्कृष्ट बनेको छ । सिनेमा कलात्मक बनेको छ । नयाँ टेष्ट हेर्न रूचाउने दर्शकहरूको लागी यो गुरूङ सिनेमाले प्रचुर आनन्द दिलाउने छ ।

नायक बिश्वास गुरूङ र नायिका सुमन गुरूङको भूमिका उत्कृष्ट छ । अभिनय क्षमतामा कुनै कमी देखिदैन । अन्य पात्रहरूको अभिनय पनि उल्लेखनीय छ । पात्र चयनमा पनि फिल्मी टिमले सहि चयन गरेको देखिन्छ । बुद्व धर्मको सन्देश अहिंसा परमो धर्म वाणीलाई यस फिल्ममा बडो मार्मिकका साथ देखाएको छ ।

आफनो पढ्ने धोको र भर्खर माया बसेको प्रेमीलाई चटक्क छाडेर बिदेशिनु पर्दा मन चाही कटक्क हुन्छ । कथाअनुसार पात्र चयन उत्कृष्ट मान्न सकिन्छ । सबै दर्शकहरूले यो सिनेमा मन पराउने छ भन्ने आशा गर्न सकिन्छ ।