
पोखरा । विश्वव्यापी प्याराग्लाइडिङ्ग पाइलटहरुको ऐक्यवद्धतामा स्थापित कर्मफ्लाईटस् फाउन्डेशन नेपाल पोखरा कास्कीद्धारा अन्नपूर्ण गाउँपालिका –४ सल्यानस्थित भुमेश्वर आधारभुत विद्यालयलाई बालकक्षा व्यवस्थापनको लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ ।
यही वैशाख ४ गते विद्यालयमा आयोजित एक कार्यक्रममा संस्थाका कार्यक्रम निर्देशक प्रेम ब. कुँवरको नेतृत्वमा विद्यालयका प्र.अ तथा वि.व्य.स अध्यक्षलाई उतm सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अन्नपूर्ण गा.पा. वडा नं ४ का वडाध्यक्ष भरतबहादुर के.सीले यस पालिकामा नौलो नाम सुनिएको कर्मफ्लाईटस् संस्थाले वडाको सिफारिस र स्थानीय साथीहरुको विशेष पहलमा छोटो समयमै विद्यालयलाई शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि बाल शिक्षा कक्षा व्यवस्थापन गर्न सहयोग गरेकोमा धन्यवाद दिदै वडाले संस्थालाई सवै प्रकारका संयोजन गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
यस्तै विद्यालयका प्रधानाध्यपक तोरणबहादुर के.सीले स्वागत मन्तव्य राख्दै आफूसंग धन हुनेले विद्यालयको उर्वर क्षेत्रमा लगानी गर्न मन ठुलो बनाउन पर्ने बताउँदै विद्यालयको वृत्ति विकास र गुणस्तरीय शिक्षामा लगानी गरेको दानको प्रतिफल तत्कालै नदेखिएपनि दीर्घकालिन रुपमा यो समाज तथा राष्ट्र निर्माणमा कोसेढुङ्गा हुने बताए ।

विद्यालयका पूर्व विद्यार्थी मदन के.सीले पोखराका प्याराग्लाइडिङ्ग पाइलटहरुको संस्थाले यस सामुदायिक विद्यालयको गुण्णस्तर वृद्धि गर्न गरेको सहयोगको प्रशंसा गरे । उनले पोखराबाट भौतिक रुपमा नजिकै भएर पनि भौगोलिक रुपमा ओझेलमा परेको यस सल्यान गाउँका सामुदायिक विद्यालय विकट भई ओझेलमा परेको बताउँदै सल्यान गाँउका क्षेत्रका विद्यालयहरु गुणस्तरीय शिक्षा प्रदान गर्न लागि परेको र त्यहाँलाई उत्पादित क्षमतावान विद्यार्थीहरु उत्पादित भएकोले पनि विद्यालयको भविष्य उज्वल रहेको बताए ।
संस्थाले रु ३६ हजार ३ सय ७० रुपैया बरावरको कार्पेट, ३ थान डेस्क, खेल तथा खेलौना सामग्री भिजुअल चार्ट फ्लेक्स् प्रिन्ट, २ सेट पानी शुद्धिकरण गर्ने बकेट फिल्टर प्रदान गरिएको संस्थाका फिल्ड संयोजक राजु परियारले जानकारी दिए ।

