चुरे दोहन तथा विनाश हुने गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी गरिँदैन : वन मन्त्रालय

-


     मर्दी न्युज    
     जेठ २० गते २०७८ मा प्रकाशित


काठमाडाैं । वन तथा वातावरण मन्त्रालयले चुरे, भावर, शिवालिक र नदी प्रणालीबाहेकका खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय अध्ययनका आधारमा उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने नीति  रहेको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा बुद्धिसागर पौडेलले चुरे, भावर, तराई–मधेश क्षेत्रको संरक्षणका लागि राष्ट्रिय गौरवको आयोजनाका रुपमा स्वीकृत राष्ट्रपति चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना कार्यान्वयन भइरहेको र दोहन रोक्नका लागि मन्त्रालय गम्भीर रहेको बताएका छन् । 

विज्ञप्तिमा भनिएको छ, “मन्त्रालय चुरे संरक्षणप्रति संवेदनशील छ  र वातावरणीय पक्षलाई ध्यान दिई यससँग सम्बन्धित नीति, कानून तथा मापदण्डहरूको पूर्ण परिपालना गर्न/गराउन प्रतिबद्ध छ ।” 

चुरे दोहन तथा विनाश हुने गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी नगर्ने मन्त्रालयकाे दाबी छ ।  

चुरे तथा वातावरण संरक्षणप्रति सरोकार  पक्ष, संरक्षणकर्मी, नागरिक समाज, अभियानकर्मीलगायत विभिन्न तह र क्षेत्रबाट व्यक्त भएको चासो र चिन्ताका विषयमा मन्त्रालयले उचित ध्यान दिई अगाडि बढ्ने योजना समेत बनाइएको जानकारी गराइएको छ । रासस