
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप २,८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण पुष्टि भएको हो ।
केही दिनयता कोरोना संक्रमितको संख्या बढेको छ । मंगलबार २६३६ जनामा संक्रमित भेटिएको थियो । त्यस्तै सोमबार २,४४४ जना संक्रमित भेटिएकामा आइतबार १,९२० जनामा भेटिएका थिए । आइतबारको तुलनामा बुधबार संक्रमितको संख्या झण्डै एक हजार जना बढेको हो ।
यस्तै, २४ घण्टामा ३ हजार ५९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ ।

