
सन थापा,
जापान, १४ साउन (जुलाई २९) । जापानको टोकियोमा जारी टोकियो ओलम्पिकमा चीन र जापानले १५-१५ स्वर्णपदक जितेका छन् ।
हालसम्म १ सय १२ स्वर्णपदकको छिनोफानो हुँदा चीन १५ स्वर्ण, सात रजत र नौ काँस्य गरी ३१ पदक सहित पहिलो स्थानमा उक्लिएको छ भने दोस्रो स्थानमा रहेको जापानले १५ स्वर्ण, चार रजत र छ काँस्य सहित २५ पदक जितेको छ । १४ स्वर्ण, १४ रजत र १० काँस्य गरी ३८ पदक जितेको अमेरिका तेस्रो स्थानमा झरेको छ ।
त्यस्तै रसियाले आठ स्वर्ण, ११ रजत र नौ काँस्य गरी २८ पदक सहित चौथो स्थानमा रहेकोछ । आठ स्वर्ण,दुई रजत र १० काँस्य गरी २० पदक जितेको अस्ट्रेलिया पाचौं स्थानमा उक्लिएको छ । छैटौं स्थानमा रहेको इंग्ल्याण्डले पाँच स्वर्ण, सात रजत र छ काँस्य गरी १८ पदक जितेको छ । दक्षिण कोरियाले चार स्वर्ण, तीन रजत र पाँच काँस्य गरी १२ पदक जितेर सातौं स्थानमा रहेको छ ।
तीन स्वर्ण, पाँच रजत र तीन काँस्य गरी ११ पदक जितेको फ़्रान्स आठौं स्थानमा रहेकोछ भने नवौं स्थानमा रहेको जर्मनले तीन स्वर्ण, तीन रजत र सात काँस्य गरी १३ पदक जितेको छ । इटलीले दुई स्वर्ण सात रजत र १० काँस्य गरी १९ पदक जितेर १० औं स्थानमा रहेको छ । ११ औं स्थानमा रहेको नेदरल्याण्डले दुई स्वर्ण सात रजत र चार काँस्य गरी १३ पदक जितेको छ भने क्यानाडाले दुई स्वर्ण तीन रजत र पाँच काँस्य गरी १० पदक जितेर १२ औं स्थानमा छ ।