
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वत्र असफल व्यक्ति बारम्बार सत्तामा पुग्नु देशकै विडम्बना भएको बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै उनले पार्टी महाधिवेशन समेत समयमै गराउन नसक्ने असफल नेतृत्त्व सत्ता सम्हाल्न पुगेको टिप्पणी गरेका छन् ।सोमबार बिहानै सामाजिक सञ्जालमार्फत वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।
उनले समाजिक सञ्जालमा लेखेका छन्, “…सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।”
यस्तै उनले वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही भएको बताएका छन् । पार्टी विधान चार वर्षको कार्यकाल तोकिए पनि असाधारण परिस्थितिले डेढ वर्ष थपिँदा पनि महाधिवेशन हुन नसक्नु नेतृत्वको चरम लापरबाही भएको टिप्पणी गरेका छन् ।
‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।’ उनले भनेका छन्,‘आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरू के हुन्छ ?’

