
पोखरा । नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स, गण्डकी प्रदेशको आयोजनामा आज २०७८ पौष १२गते बिहान पोखरा लेकसाइड को अम्मटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपालकै महत्त्वपूर्ण मानिने पोखरा सडक महोत्सवको २३औं संस्करण तथा अङ्ग्रेजी नयाँबर्ष २०२२ को आगमनको संदर्भमा पोखरामा भएको रक्त अभावलाई समेत मध्यनजर गर्दै उक्त कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुर्य बहादुर घलेले बताउनुभयो। रक्त संचार केन्द्र, पोखराका कार्यालय प्रमुख अर्जुन ज्ञवालि तथा उहाँको टिमले रक्त संकलन गर्नुभएको थियो भने नाट्टा गण्डकीका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले पहिलो रक्तदाता कुमार आचार्य लाई रक्तदानको प्रमाणपत्र हस्तान्तरण गरि कार्यक्रमको उदघाटन गर्नुभएको थियो। कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रबन्धक नवीन पोखरेलको विशेष उपस्थिति रहेको थियो।

औपचारिक कार्यक्रमको अध्यक्षता नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्जयकान्त सिग्देलले गर्नुभएको थियो भने कार्यक्रम संचालन नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरिले गर्नुभएको थियो।
आफ्नो ब्यस्तताको बाबजुद पनि रक्तदान स्थलमा उपस्थित हुनुभएका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन,बाणिज्य तथा आपूर्ति मन्त्री माननीय मणिभद्र शर्माले आफ्नो संक्षिप्त मन्तव्य राख्नुहुँदै रगतको अभाव रोक्नको लागि गरिएको यस्तो पुनित कार्यको लागि आयोजक लाई धन्यवाद ज्ञापन गर्नुभयो।
नाट्टाका सदस्यहरु, अन्य पर्यटन ब्यबसायी संस्थाका सदस्यहरु, बैदामबासी आम जनता तथा सुभेच्छुकहरु लगायतबाट ५१ जना रक्तदाताले रक्तदान गरेका थिए
