
फोटो: मनशान्त घिमिरे
पोखरा । चराहरुको अध्ययन, अनुसन्धान तथा तिनीहरुको वासस्थानमा विगत लामो समयदेखि काम गर्दै आइरहेको पोखरा पंछी समाजले शुक्लागण्डकी नगरपालिकाका मेयरलाई भेटी सोही नगरपालिका वडा नं. २ सिमलचौतारास्थित सिमलको रुखमा रहेको अतिसङ्कटापन्न सानो खैरो गिद्धको गुँड जोगाउन ज्ञापनपत्र बुझाएको छ ।
समाजका अध्यक्ष मनशान्त घिमिरेले नगरप्रमुख किसान गुरुङलाई उनकै कार्यकक्षमा भेटी विश्वमै दुर्लभ अवस्थामा रहेको र नेपालमा पनि ५०–७५ को संख्यामा मात्र रहेको सानो खैरो गिद्ध (स्लेण्डर बिल्लेड भल्चर)ले बच्चा कोरल्न बसेको हुँदा बच्चा कोरलेर नहुर्किञ्जेलसम्म सिमलको रुख नकाटिदिन ज्ञापनपत्र बुझाएको हो । यसैगरी समाजले सडक डिभिजन कार्यालय दमौली र नेपाल पंछी संरक्षण संघलाई पनि ज्ञापन पत्र बुझाएको छ ।
नगर प्रमुख गुरुङले चीनको कम्पनीले ठेक्का लिएको हुँदा सडक डिभिजन कार्यालय तनहुँमार्फत अनुरोध गर्ने बताए । गिद्ध संरक्षणको लागि आफू पनि तयार रहेको उनले बताए ।
हाल पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक खण्डको बाटो चक्लाउने क्रममा सडक आसपासका रुखहरु हटाउने कार्य चलिरहेको छ । उक्त सिमलको रुख पनि मापदण्डभित्र पर्ने हुँदा बच्चा नहुर्किञ्जेलसम्म नहटाउन समाजले ज्ञापनपत्र बुझाएको हो ।

नेपालमा बाघ, हात्ति तथा गैंडा भन्दा पनि निकै कम संख्यामा रहेको यो प्रजातिलाई जोगाउन स्थानिय तथा सरोकार निकायसँग अझै समन्वय गरी अगाडि बढ्नु पर्ने नेपाल जुलोजिकल सोसाईटी गण्डकीका अध्यक्ष तथा आईयूसियन गिद्ध विशेषज्ञ समुहका सदस्य हेमन्त ढकाले बताए ।
विश्वमै अति सङ्कटापन्न यस सानो खैरो गिद्धले वर्षमा एउटा मात्र बच्चा कोरल्ने गर्दछ । यस गिद्धले बच्चा हुर्काउन करिब ४ महिनाभन्दा बढी समय लाग्दछ । नेपालभरि वर्षमा जम्मा ४–५ वटा मात्र बच्चा कोरलेको रेकर्ड भएको नेपाल पंछी संरक्षण संघका गिद्ध संरक्षण परियोजना अधिकृत देउबहादुर रानाले बताए ।