पोखरामा फागुन ६ गतेदेखि केबलकार सञ्चालनमा आउँने

-


     मर्दी न्युज    
     ४ फाल्गुन २०७८ मा प्रकाशित


पोखरा । पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केबलकार सञ्चालनमा आउने भएको छ ।

पोखराको पर्यटकीय स्थल फेवातालको किनार भागबाट अर्को पर्यटकीय स्थल सराङकोटलाई जोड्ने गरी निर्माण भएको अन्नपूर्ण केबलकार फागुन ६ गतेबाट सञ्चालनमा आउन लागेको हो ।

पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको केबलकार फागुन ६ गते सफ्ट ओपनिङ गरी व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन लागिएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताए ।

दुई/तीन पटकसम्म सञ्चालन मिति तोकिए पनि विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ सङ्क्रमणका कारण निर्माण सामग्री आयातलगायत विदेशी प्राविधिकहरूको आवतजावतमा समस्या उत्पन्न हुँदा तोकिएको समयमा केबलकार सञ्चालनमा ल्याउन नसकिएको त्रिपाठीले बताए ।

‘पछिल्लो पटक अंग्रेजी नयाँ वर्षमा शुरु गर्ने भनेका थियौ, जेनेरेटर इन्स्टलेसनको काम नसकिएकाले केही समय पछि धकेलियो’, निर्देशक त्रिपाठीले भने ।

केबलकारको दुई हजार ४०० मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिन्छ । केबलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गण्डोला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गण्डोला जडान गरिएको छ ।

केबलकारमा ३५ वटा यात्रु बोक्ने गण्डोला जडान गर्न सकिने निर्देशक त्रिपाठीले बताए ।

केबलकारमा यात्रा गर्न टिकटको मूल्य नेपाली पर्यटकलाई प्रतिव्यक्ति ७ सय रुपैयाँ, र्साक राष्ट्रका पर्यटकलाई ८ सय र अन्य मुलुकका पर्यटकलाई ९ डलर निर्धारण गरिएको निर्देशक त्रिपाठीले बताए।

केबलकार निर्माण शुरूमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि निर्माण गर्दै जाँदा दुई अर्ब रुपैयाँ लागत पुगेको त्रिपाठीले बताए । केबलकारको माथिल्लो स्टेसनमा निर्माण गरिएको भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप तथा अतिरिक्त जग्गा खरिदले गर्दा लागत मूल्य बढेको उनको भनाई छ ।

केबलकार सञ्चालनमा आएसँगै तत्कालका लागि २५ जनाले रोजगारी पाउने भएका छन् ।