
पोखरा । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेशको दोस्रो प्रादेशिक महाअधिवेशन बुधवार पोखरामा सुरु भएको छ ।
फोनिज गण्डकी प्रदेश समिति अध्यक्ष एमबी आस्थाको अध्यक्षता एवम् गण्डकी प्रदेशको मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेपालीले प्राप्त उपलब्धिलाई संस्थागत गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
‘नेपालको राजनीतिक परिवर्तनमा या लोकतान्त्रिक संघर्षमा जनताको सार्वभौम अधिकारको लागि लड्ने अभियानमा पत्रकार जगतको भूमिका सबैले स्वीकार गरेको छ’ उनले भने- ‘त्यति हुँदा हुँदै पनि प्रत्येक पेसागत संगठनले स्वस्थ र निषपक्ष भूमिका खेल्न आवश्यक छ ।’
कार्यक्रममा गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सञ्चार क्षेत्रप्रति गण्डकी प्रदेश सरकार सकारात्मक रहेको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
अधिवेशनका क्रममा फोनिजका सदस्य धनबहादुर गुरुङ (सुमन) लाई पुरस्कृत गर्नुका साथै तनहुँ जिल्ला शाखालाई समेत सम्मान गरिएको छ ।
महाधिवेशन भोलिसम्म चल्ने छ ।